Friday, June 5, 2020

गलत लाग्छ मलाई मेरो देशको इतिहास / भूपी शेरचन


गलत लाग्छ मलाई मेरो देशको इतिहास / 

भूपी शेरचन

जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलिजस्ता गल्लीहरुमा
हेर्छु एक–दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो बाटोको बीचमा माटो खनेेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका मानिसहरु
यो भूकम्पपीडित मन्दिर
र ढल्केका गजूरहरु
यी सालिक बनेर दोबाटोमा
उभिएका हजूरहरु
जब देख्छु म यी सबलाई
सधैँ त्यही– सधैँ उस्तै र
सधैँ एकनास
तब मलाई गलत लाग्छ
मेरो हुरीको इतिहास
जब म
असङ्ख्य सीताहरुलाई सधैँ
बाटो–दोबाटोमा,
गल्ली–गल्लीमा,
देश–विदेशमा,
यूक्लिप्टसका रुखझैँ नङ्ग्याइएको देख्छु
अनि जब देख्छु असङ्ख्य भीमसेन थापाहरुलाई
निस्पन्द, निश्चल, शिथिल चूपचाप उभिएका
आफ्नो आत्माको गीत झारेर
तब मलाई गरुँ–गरुँ झैँ लाग्छ
आफ्नै रगतको उपहास
ेजब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलिजस्ता गल्लिहरुमा
हेर्छु एक–दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
सूुन्छु : अमरसिंह काँगडासम्म बढेको कुरा
सूुन्छु : तेन्जिङले सगरमाथा चढेको कुरा
सूुन्छु : बुद्धले धरामा शान्तिको बीउ छरेको कुरा
सूुन्छु : अर्निकाले कलाले विश्व–मन हरेको कुरा
सूुन्छु : सधैँ सुन्छु र केवल सुन्छु
तर मलाई
हुँदैन विश्वास
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलिजस्ता गल्लीहरुमा
हेर्छु एक–दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो मेरो सत्य इतिहास।

Thursday, March 12, 2020

आगमन


आगमन

खडेरीमा डढेलो लाग्नसक्ने
चिन्तित मनमा
यी रिमझिम साँझको
झरीले रुझु-रुझु लागिरहेछ ।

जसरी कोइली
साझको कुहु - कुहु सङ्गै
बिछ्ट्टै मिठो सपनीमा
फर्किन्छिन ।

सपनाको आभाषले मन
उत्तेजित होलान्
बहलाउदै
निस्संदेह मुस्कुराउने यी मन ।

ति ठुला खडेरीले भारी बर्षा
गराउनेरहेछ।
सम्भावना जे थियोे बर्षा या डढेलो
सायदै अनन्त यात्रा पो गर्छौ कि रुझ्दै ।